तथ्यजाँच भ्रामक सूचना

के नारायण वाग्लेले मन्दिर भत्काउनु पर्छ भनेका हुन् ?


के नारायण वाग्लेले मन्दिर भत्काउनु पर्छ भनेका हुन् ?


सामाजिक सञ्जालमा यतिबेला नारायण वाग्ले चर्चामा छन्। ट्विटरमा ‘नारायण वाग्ले’ लेखिएका ट्विट सोमबार रातिदेखि सुरु भएर मंगलबार दिउँसो यो फ्याक्टचेक तयार पार्दासम्म झण्डै हजार ट्विट भइसकेको देखिन्छ। नागरिक समाजको ब्यानरमा सोमबार* भएको ‘बालुवाटार मार्च’ कार्यक्रमका क्रममा भएको प्रहरी कारबाही र त्यही कार्यक्रममा उनले गरेको भाषण हिजोदेखि चर्चामा छ। यसै क्रममा नारायण वाग्लेको फोटोसहित एउटा भनाई अहिले भाइरल भएको छ। के उनले यसो भनेकै हुन् ? यसबारे हामीले फ्याक्ट चेक गरेका छौँ।

Use Hoaxy to see how this spreads online: नारायण वाग्ले

सोसल मिडियामा नागरिक वाग्लेको चर्चा।

पत्रकार बिनु पोखरेलले मंगलबार (जनवरी २६) बिहान ६ बजेर ४६ मिनेटमा यही फोटोसहित गरेको ट्विटमा दिउँसोसम्म २८ रिट्विट, १० कोट ट्विट र १२८ लाइक छ।

त्यसैगरी कुसुम ज्ञवालीले मंगलबार बिहान ६ बजेर २१ मिनेटमा यही फोटोसहित गरेको ट्विटमा पनि ३६ रिट्विट र ११७ लाइक देखिन्छ।

डा. गोथे लगायत परिचय नखुलाएका अरु धेरैले पनि नारायण वाग्लेको भनाई दावी गरिएको यो फोटो ट्विटरमा राखेका छन्।

फेसबुकमा “नारायण वाग्ले” र “मन्दिर” सँगै राखेर सर्च गर्दा पनि प्रशस्त पोस्टहरु भेटिए-

नारायण वाग्लेले के भनेका थिए?

फोटोमा नारायण वाग्लेलाई लेखक, अभियन्ता भन्दै उनको भनाईको रुपमा लेखिएको छ – संविधानमा धर्म निरपेक्षता लेखिएको छ। त्यसैले मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ। धर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनु पर्छ। पूजापाठ बन्द गरिनु पर्छ।

सोमबारको कार्यक्रमका नारायण वाग्लेले गरेको भाषणका भिडियो विभिन्न मिडियामा आएका छन्। शिलापत्रले राखेको यो भिडियोको ४ मिनेट ४० सेकेन्डपछि वाग्लेले धर्म निरपेक्षताको सन्दर्भमा बोलेको देखिन्छ-

भिडियोमा उनले भनेका छन्-

अब जो बालुवाटारमा बस्या छन्, यिनले देशभरी पहिला मन्दिर बनाउँछु भन्दै हिँडे, अब पूजाआरती गर्दै हिँड्दैछन्। यिनले संविधान पढेका छन् कि छैनन्? त्यो संविधानमा के लेखेको छ? त्यो संविधानमा लेखेको छ- धर्म निरपेक्षता। यिनले त खल्बल्याउन खोजेको संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्वसहितको लोकतन्त्र नै हो। त्यसकारण उनी मन्दिर मन्दिर जाउन्, यो माघको महिना हाम्रो शहिदहरुको महिना हो, ९७ सालका शहिदहरुलाई सम्झनलाई। नागरिक आन्दोलनले अबको कार्यक्रम शहिदहरुको कार्यक्रम गर्नेछ। शहिदहरुलाई जहाँ झुण्ड्याएको थियो, हामी त्यहीँ गएर समर्पण गर्छौँ।

त्यसैगरी उक्त कार्यक्रमको भिडियो सेतोपाटीले पनि युट्युबमा राखेको छ। पहिलोपोस्टले ट्विटरमा राखेको भिडियोको १ मिनेट २० सेकेन्डपछि यो प्रसंग सुन्न सकिन्छ।

नारायण वाग्लेले ‘मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ। धर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनु पर्छ। पूजापाठ बन्द गरिनु पर्छ’ भनेको हामीले कुनै पनि विश्वसनीय मिडियामा समाचार भेटेनौँ। न उनले त्यसो भनेको कुनै अडियो र भिडियो नै सार्वजनिक भएको छ।

दावी : नारायण वाग्लेले यसो भने- ‘संविधानमा धर्म निरपेक्षता लेखिएको छ। त्यसैले मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ। धर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनु पर्छ। पूजापाठ बन्द गरिनु पर्छ।’

तथ्यजाँच : भ्रामक । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिमा संकल्प पूजा गर्न गएको समाचार सार्वजनिक भएको थियो। त्यसैलाई लक्षित गरी वाग्लेले अहिले जो बालुवाटारमा बस्या छन्, यिनले देशभरी पहिला मन्दिर बनाउँछु भन्दै हिँडे, अब पूजाआरती गर्दै हिँड्दैछन् भनेको देखिन्छ। भाषणमा उनले ‘संविधानमा धर्म निरपेक्षता लेखिएको छ’ त भनेका हुन्। तर दावी गरिए जस्तो उनले ‘मन्दिर बनाउने र पूजा गर्ने काम बन्द हुनुपर्ने, धर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनु पर्ने, पूजापाठ बन्द गर्नुपर्ने भनेको देखिएन।

*यसअघि बालुवाटार मार्च कार्यक्रम सोमबार भएको हुनुपर्नेमा भूलवश मंगलबार भएको उल्लेख भएकोमा सच्याइएको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add