अपुष्ट सूचना तथ्यजाँच

के अमेरिकामा दुई दिनका लागि मात्रै औषधी बाँकी छ?


के अमेरिकामा दुई दिनका लागि मात्रै औषधी बाँकी छ?

कान्तिपुर टेलिभिजनले चैत २० गतेको राति आठ बजेको प्राइम टाइम न्युज बुलेटिनमा अमेरिकामा दुई दिनका लागि मात्रै औषधी बाँकी रहेको समाचार दियो। हेडलाइनमा भनिएको थियो, ‘कोरोना भाइरसबाट सबैभन्दा प्रभावित अमेरिकामा दुई दिनका लागि मात्रै औषधी बाँकी।’ टेलिभिजनले युट्युबमा राखेको बुलेटिनमा यो हेडलाइन हेर्न सकिन्छ। यहाँ क्लिक गर्नुस्।

युट्युबमा राखिएको समाचार बुलेटिनमा हेडलाइन मात्रै छ, पूरा समाचार भने छैन।

तर त्यो दिनको समाचारमा भनिएको थियो- ‘कोरोना महामारीसँग जुध्नका लागि अमेरिकी संघीय सरकारसाग मौज्दात अत्यावश्यक स्वास्थ्य सामग्री र औषधी सकिन लागेको द वासिङ्टन पोस्टले जनाएको छ। उक्त पत्रिकाका अनुसार अहिलेको औषधी र स्वास्थ्य सामग्रीले दुई दिनको मात्र माग धान्छ।’

समाचारमा वासिङ्टन पोस्टलाई उद्‍धृत गरिएको छ। तर हामीले वासिङ्टन पोस्टका समाचार हेर्दा दुई दिनका लागि मात्रै मौज्दात रहेको कतै भेट्न सकेनौँ।

वासिङ्टन पोस्टमा Protective gear in national stockpile is nearly depleted, DHS officials say शीर्षकमा अप्रिल २ मा मास्क, पञ्जा र अरु मेडिकल सप्लाईको अभाव भएको समाचार त छ, तर त्यसमा दुई दिनको मात्रै माग धान्ने विषय चाहिँ कतै उल्लेख भएको हामीले देखेनौँ।

वासिङ्टन पोस्टमा मात्र हैन, अरु मिडियामा पनि हामीले अमेरिकामा दुई दिनका लागि मात्रै औषधि बाँकी रहेको समाचार आएको देखेनौँ।

त्यसैले कान्तिपुरको यो समाचार पुष्टि हुन नसकेको श्रेणीमा हामीले राखेका छौँ।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। तथ्य जाँच सामाग्री माइसंसारनेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add